तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा टोलीद्वारा रौतहट–४ का मतदान स्थलमा स्थलगत निरीक्षण

रौतहट। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट निर्वाचन क्षेत्र न-४ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधवप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङ तथा सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसीसहितको संयुक्त सुरक्षा टोलीले बुधवार मतदान स्थलहरूको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मतदान केन्द्रहरूको भौतिक संरचना, सुरक्षा व्यवस्थाको अवस्था, प्रवेश तथा निस्कने मार्ग, सम्भावित जोखिम र आवश्यक पूर्वतयारीको अवस्थाबारे सूक्ष्म मूल्याङ्कन गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार निरीक्षणका क्रममा देखिएका कमजोरीहरू तत्काल सुधार गरिनेछ भने आवश्यकताअनुसार मतदान केन्द्रहरूमा थप सुरक्षात्मक व्यवस्था कडा बनाइनेछ । निर्वाचन अवधिभर शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै उच्च सतर्कता अपनाइने उहाँले बताउनुभयो ।

सुरक्षा निकायहरूले निर्वाचनलाई कुनै पनि प्रकारको भय, दबाब तथा अवाञ्छित गतिविधिबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच प्रभावकारी समन्वयका साथ काम गरिने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button