बैतडीमा एक हजार १५१ अस्थायी मतदाता
बैतडी। जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने तीन वटै सुरक्षा निकायका कर्मचारी र सुरक्षाकर्मीसहित एक हजार १५१ अस्थायी मतदाताको नामावली सार्वजनिक गरिएको हो। यी मतदाताले समानुपातिक प्रणाली अनुसार मतदान गर्न पाउनेछन्।
सूचना अधिकारी दयालका अनुसार, निर्वाचनमा खटिएका कर्मचारीहरूले खटिएको मतदान केन्द्रबाट मतदान गर्नेछन् भने बाँकीले जिल्ला सदरमुकाम गढीमा स्थापना गरिने अस्थायी मतदान केन्द्रबाट मतदान गर्न सक्नेछन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार, बैतडीमा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र, २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको छ। जिल्लामा कुल एक लाख ५६ हजार ३७२ मतदाता छन्।
सुरक्षा दृष्टिले, १२९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य सूचीमा राखिएका छन्।








प्रतिक्रिया राख्नुहोस्