तपाईँ सुन्दै हुनुहुन्छः

देउराली जनता फर्मास्युटिकल्स प्रालिले औषधि उद्योगमा थप लगानी गर्ने

काठमाडौँ । नेपालमा अत्याधुनिक प्रविधिको प्रयोग गरी औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालिले औषधि उद्योगमा थप लगानी गर्ने भएको छ । 

कम्पनीले औषधि उत्पादनको क्षमता विस्तार गरी आन्तरिक खपत बढाउने र निर्यात समेत गर्ने गरी चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त औषधि उद्योग स्थापना गर्न लागेको हो । 

कम्पनीले ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा औषधि उद्योगमा थप ४ अर्ब ७५ करोड लगानी गर्न लागेको जनाएको छ । 

चितवनमा बन्ने औषधि उद्योग परियोजना आगामी २ बर्ष भित्रमा निर्माण सम्पन्न गरी उत्पादन शुरु गर्ने लक्ष्य रहेको देउराली जनता फर्मास्युटिकल्स प्रालिका निर्देशक सुरजभक्त पौडेलले पत्रकार सम्मेलनमा बताउनुभयो । 

देउराली जनता फर्मास्युटिकल्सले अत्याधुनिक प्रविधिको प्रयोग गरी हाल जीवन रक्षक औषधिहरू तथा विभिन्न दीर्घ रोगको उपचारमा आवश्यक पर्ने २९६ प्रकारका औषधि उत्पादन तथा अनुसन्धानको काम गर्दै आएको निर्देशक पौडेलले बताउनुभयो । 

उद्योगमा हाल ६ सय ७५ जनाले रोजगारी पाएका छन् । उद्योगको नयाँ परियोजना सञ्चालनमा आएपछि पथ ६ सय जनाले रोजगारी प्राप्त गर्ने कम्पनीका अर्का निर्देशक आयुशभक्त पौडेलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नेपालमा उद्योगका लागि अझै पनि लगानीमैत्री वातावरण बन्न नसकेको र नेपालमा उद्योग स्थापना गर्न चीनमा भन्दा ६० प्रतिशत र भारतमा भन्दा ४० प्रतिशत महँगो भएको बताउनुभयो ।      

प्रतिक्रिया राख्नुहोस्

Back to top button