तपाईँ सुन्दै हुनुहुन्छः

पुलिस पराजित, न्यू डायमन्डलाई टाइगर कपको उपाधि

पोखरा । टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको महिलातर्फको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्डले उपाधि जितेको हो ।

न्यू डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । उपाधिसँगै न्यू डायमन्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्न सफल भयो । उपविजेता भएको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो । तेस्रो भएको पाहुना टोली थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्‍यो ।

न्यू डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले २६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट हुनुभयो । उहाँहरूलाई जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरियो ।

विजयी खेलाडीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, आयोजक संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल सुरु हुदैछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button