तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व । रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ । 

यो यस वर्षको दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नं वडामा हिमपात भइरहेको छ । हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताउनुभयो । “अहिले पनि निरन्तर हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र बस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ ।” 

हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष टीकासाइ घर्तीले बताउनुभयो । “आकाशे पानीको भरमा खेतीपाती गर्ने किसान पनि हिमपात र वर्षाले निकै खुसी छन्”, उहाँले भन्नुभयो, “हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेको पनि जमात बढेको छ ।” हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । हिमपातमा फसेका यात्रुहरूको उद्धार जारी राखिएको छ । 

काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस पातिहाल्नामा फसेका छन् । तीन सयको हाराहारीमा अलपत्र यात्रुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button