तपाईँ सुन्दै हुनुहुन्छः

भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिनुभएको छ ।

बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उहाँले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गर्नुभयो । उहाँका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । 

“अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उहाँको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उहाँले जोड दिनुभयो । फ्लोरिडाका पूर्व सिनेटरसमेत रहनुभएका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीति कंग्रेसका सहकर्मी समक्ष स्पष्ट पार्ने भूमिकामा हुनुहुन्छ । 

पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उहाँको चुनौती बनेको छ । भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गर्नु भएको छ । उहाँले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताउनुभयो ।

“भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिक भूमिमा तैनाथ छैनन्”, उहाँको भनाइ छ । यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐन अन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन ।

यसबिच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ । अमेरिकी अधिकारीले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइ रहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उहाँको हितमा हुने विश्वास व्यक्त गर्नु भएको छ । ती मागमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

रोड्रिगेजले मङ्गलबार दुवै पक्षबिच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताउनु भएको छ । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दी रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गर्नु भएको छ । कूटनीतिक सम्बन्ध पुनः स्थापनातर्फ एक महत्वपूर्ण कदम स्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ । 

सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रिया बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ । यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गर्नु भएको छ । मदुरोलाई हटाइएपछि वासिङ्टन आउनु भएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिनु भएको थियो, जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ । रासस/एपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button