तपाईँ सुन्दै हुनुहुन्छः

बाराको परवानीपुरमा एकै परिवारका दुईको हत्या ३ घाईते

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरियाडीमा आज बिहान एकै परिवारका दुई जनाको हत्या भएको छ भने ३ जना घाईते भएका छन् ।

अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो भने परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन् । आक्रमणमा एकजना सामान्य घाईते हुनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उहाँका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहनुभएकाे छ । अज्ञात समूहले आज बिहान करिब ३ बजेको समयमा उनीहरूमाथि धारिलो हतियारले टाउकोमा प्रहार गरेको थियो । घटनामा मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते हुनुभएकाे छ । उहाँहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले सामान्य घाईते मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ । बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले घटनाको प्रारम्भिक अनुसन्धानका लागि मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिनुभयो ।

गाउँमा एकै परिवारका सदस्यको विभत्स हत्या भएपछि रहरियाडी क्षेत्र शोक र त्रासमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्राविधिक टोली र तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनाको अनुसन्धान भईरहेको छ ।

हत्या कसले र कुन उद्देश्यले गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको बताउदै प्रहरी उपरिक्षक कुँवरले भन्नुभयो, “हामीले विभिन्न कोणबाट प्रमाणहरू सङ्कलन गरिरहेका छौँ, दोषी चाँडै कानुनी दायरामा आउनेछन् ।” घटनास्थललाई प्रहरीले सिल गरी सुरक्षा सतर्कता बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button