बेलौरीमा विद्यालय स्तरीय मेयर कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिता सुरु
कञ्चनपुर । ‘राष्ट्रका लागि खेलकुद: स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित बेलौरी नगर खेलकुद समितिद्वारा आयोजित बेलौरी नगरपालिका विद्यालय स्तरीय मेयर कप टि(ट्वाइन्टी क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विद्यार्थी तहदेखि नै खेलकुदको विकासले स्वस्थ नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेका अनुसार प्रतियोगितामा जम्मा ९ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो दिन सरस्वती माध्यमिक विद्यालय बुटावारी र जनज्योति माध्यमिक विद्यालय कलकत्ताबिच भएको खेलमा जनज्योति माविले सरस्वती माविलाई ९ विकेटले पराजित गरेको छ । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका जनज्योति माविका मुकेश विक म्यान अफ द म्याच घोषित हुनुभयो ।
आयोजकका अनुसार भोलि हुने खेलमा पहिलो खेल बिहान १० बजे लिटिल गार्डन गोकुलपुर र लक्ष्मी माध्यमिक विद्यालय जब्दियाबीच हुने छ भने दोस्रो खेल दिउँसो १ बजे महाकाली माध्यमिक विद्यालय विद्यानगर र विज्डम एकेडेमी रिछाहाबीच हुने छ ।








प्रतिक्रिया राख्नुहोस्