बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, १६औँ पटक औषधि खुवाइँदै

नेपालगन्ज । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा छ । एक अध्ययन अनुसार बाँकेमा औसतमा १०० जनामा ६.५ जनाको शरीरमा हात्तीपाइलेको वयस्क परजीवी छ । यसलाई १ प्रतिशत मुनी नझारे जोखिम उच्च रहन्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ वर्षसम्म अरूलाई सार्ने गर्दछ । नेपालमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान १५औँ पटक सम्पन्न हुँदा समेत बाँकेमा एक पटक पनि नखाएको सङ्ख्या १५.३६ प्रतिशत छ । औषधि कभरेज १० प्रतिशत भन्दा माथि भए चुनौतीपूर्ण हुन्छ ।
जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १६औँ पटक हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदै छ । गत वर्ष जिल्लामा ६२ प्रतिशतले औषधि खाएका थिए भने नेपालगन्ज उपमहानगरपालिकामा ५६ प्रतिशत मात्रै कभरेज थियो । नेपालगन्जको १६ नम्बर वडामा १४ प्रतिशत मात्रै प्रगति छ । एकै पटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन ।
यसैबिच अभियानलाई नतिजामुखी बनाउन नेपालगन्जमा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा “हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको अभिमुखीकरण, योजना तथा तर्जुमा गोष्ठी” गरिएको हो । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले हात्तीपाइले रोगको जोखिम र औषधि सेवनको महत्व र आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । महतोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पार्नुभयो । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले अभियानको योजना र नगरको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन सबै दृढ संकल्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो पटक धेरै मेहनत गरेर भए पनि लक्ष्य हासिल गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । औषधि सेवनबारेको भ्रम चिर्न पनि आवश्यक रहेको विष्टको भनाई छ ।
स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा कार्यालय प्रमुख सुनिता पौडेलले कार्यक्रम र अभियानको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । त्यसक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंह लगायतले अभियान सफल बनाउन प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्