तपाईँ सुन्दै हुनुहुन्छः

९ महिना बित्दा पनि खुल्न सकेन बाबुराम मल्लाहको मृत्यु रहस्य

'न्यायको प्रतीक्षामा धरभरन मल्लाह परिवार'

रुपन्देही। रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मौजा भरथापुर निवासी धरभरन मल्लाहको जीवन पछिल्ला नौ महिना यता सङ्घर्षपूर्ण बनेको छ।

उहाँका २२ वर्षीय छोरा बाबुराम मल्लाहको मृत्युको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन नसक्दा परिवार न्यायको प्रतीक्षामा छ। धरभरन मल्लाहका अनुसार बाबुराम वैशाख २५ गते बिहान करिब ४ बजे घरबाट निस्किएका थिए। लामो समयसम्म घर नफर्किएपछि इलाका प्रहरी कार्यालय लुम्बिनीमा जानकारी गराइएको थियो। भोलिपल्ट वैशाख २६ गते साँझ करिब ६ बजे दानव नदीको पूर्वतर्फ किरानामा डुबेको अवस्थामा एक शव फेला परेको खबर प्रहरी र स्थानीयवासीमार्फत प्राप्त भएको उहाँले बताउनुभयो। भीम अस्पतालमा राखिएको शव हेर्दा आफ्नै छोरा भएको पुष्टि भएपछि परिवार शोकमा डुबेको मल्लाहको भनाइ छ। “हामीलाई छोराको मृत्यु स्वाभाविक लाग्दैन, उस्को हत्या गरिएको हो,” धरभरन मल्लाहले भन्नुभयो। उहाँले छोराको हत्या भएको आशङ्कासहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरीसमेत दिनुभएको छ। तर घटनाको यति लामो समय बितिसक्दा पनि कुनै ठोस प्रगति वा जानकारी नपाएको उहाँको गुनासो छ।

मल्लाहका अनुसार मृतक बाबुराम र रुपन्देहीको गैडहवा गाउँपालिका–७ छतरापुर निवासी ५६ वर्षीय राधेश्याम मल्लाहकी छोरीबीच प्रेम सम्बन्ध थियो। यही विषयलाई लिएर विगतमा पनि बाबुराम र राधेश्यामबीच विवाद हुँदै आएको थियो। “यसै कारण हामी बिना आधार यसलाई सामान्य मृत्यु मान्न सक्ने अवस्थामा छैनौँ,” मल्लाहले भन्नुभयो। साथै, पोस्टमार्टम रिपोर्टबारे पनि परिवारलाई कुनै स्पष्ट जानकारी नदिइएको उहाँको आरोप छ। यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनाको अनुसन्धान जारी रहेको बताउनुभयो। उहाँका अनुसार मृतकको शरीरमा बाह्य चोटपटक नदेखिए पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको ठोस कारण खुल्न सकेको छैन। “पोस्टमार्टम रिपोर्ट परिवारलाई सिधै हस्तान्तरण गर्न नमिल्ने कानुनी व्यवस्था छ,” उहाँले जानकारी दिनुभयो।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मासिक प्रगति विवरण सार्वजनिक गर्दै आएको भए पनि यस्ता गम्भीर प्रकृतिका घटनामा पीडित परिवारले न्याय नपाएको गुनासो बढ्दै गएको छ। यसले अनुसन्धान प्रक्रियामा कतै कमजोरी त छैन भन्ने प्रश्नसमेत उठाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button