पुनर्वास–१० सीमाक्षेत्रबाट अवैध काठ र पशु बरामद
कञ्चनपुर। भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याउने क्रममा दुई राँगा र एक गाडा सहित अवैध काठ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

गए राति करिब १० बजे भारतीय दुधुवा नेसनल पार्कको पूर्व, परासन क्षेत्रको पश्चिम, पुनर्वास नगरपालिका १० विकास बस्तीको उत्तर तथा बीचफाँटा इलाकाको दक्षिण क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको अवस्थामा दुई वटा राँगा, एउटा गाडा र नौ गोलिया काठ बरामद गरिएको हो । बरामद गरिएको काठको परिमाण करिब ७६ क्युफिट रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी दोदाबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुलीको कमान्डमा खटिएको टोलीले उक्त अवैध सामग्री नियन्त्रणमा लिएको हो । बरामद गरिएको काठ तथा राँगालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय कुण्डामा बुझाइएको छ । घटनाबारे जानकारी दिँदै सब डिभिजन वन कार्यालय कुण्डाका वरिष्ठ वन अधिकृत दिनेश कुमार यादवले अवैध रूपमा भित्र्याइएका काठ र पशुसम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । वन ऐन तथा प्रचलित कानुन अनुसार दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।
सीमावर्ती क्षेत्रमा अवैध काठ कटानी र पशु ओसारपसारका घटना बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरी र वन कार्यालयको सक्रियताले यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुगेको स्थानीयवासीहरूको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्