तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ फिडर सञ्चालनसँगै विद्युत आपूर्ति सहज बन्दै

बाँके। नेपालगञ्ज वितरण केन्द्रले बक्यौता असुली र विद्युत आपूर्ति सुधार अभियानलाई तीव्र बनाएको छ। केन्द्रका अनुसार गत मंसिर १४ देखि करिब ४५ दिनको अवधिमा तीन हजार पाँच ग्राहकको लाइन काटिएको छ।

वितरण केन्द्र प्रमुख संजयकुमार मिश्रका अनुसार उक्त अवधिमा ग्राहकको कुल बाँकी बक्यौता चार करोड ४४ लाख २२ हजार ४५६ रुपैयाँ रहेको छ। तीमध्ये दुई हजार ३०४ ग्राहकको लाइन पुनः जडान गरिएको छ भने तीन करोड २९ लाख २१ हजार ५६२ रुपैयाँ असुली गरिएको छ। अनधिकृत रूपमा विद्युत प्रयोग गर्ने छ जनाबाट चार लाख १५ हजार रुपैयाँ असुली गरिएको केन्द्रले जनाएको छ।

गर्मी याममा भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न overload feeder समस्या समाधानतर्फ पनि काम अघि बढाइएको छ। धम्बोझी सबस्टेशनबाट आपूर्ति हुने ‘भूजै गाउँ’ नामक ११ केभी फिडर पुष २५ गतेदेखि सञ्चालनमा आएको छ। यसले बसपार्क, एयरपोर्टलगायत क्षेत्रमा देखिँदै आएको विद्युत समस्या कम हुने विश्वास केन्द्रले गरेको छ।

त्यसैगरी पुरानो सबस्टेशनबाट सञ्चालन हुने बोर्डर र इस्टर्न फिडरको लोड व्यवस्थापनका लागि ‘महेन्द्रनगर’ नामक ११ केभी फिडर माघ ५ गतेदेखि सञ्चालनमा ल्याइएको छ।

वितरण केन्द्रका अनुसार परसपुर, नरैनापुरलगायत क्षेत्रका लागि नयाँ फिडर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र करिब १० दिनभित्र सञ्चालनमा आउनेछ। नयाँ फिडर सञ्चालनपछि ती क्षेत्रमा राम्रो भोल्टेजसहित भरपर्दो विद्युत आपूर्ति हुने केन्द्रले जनाएको छ।

नेपालगञ्ज वितरण केन्द्रले आगामी दिनमा पनि सेवा सुधार, बक्यौता असुली र लोड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button