धनकुटाका विभिन्न धाममा माघे संक्रान्ति मेला

धनकुटा । माघे सङ्क्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
माघे सङ्क्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौबिसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ ।

यस्तै त्रिवेणीमा नुहाएर हंसमोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाङ्क्षा पुरा हुने विश्वास रहेको स्थानीय महेन्द्र न्यौपानेले जानकारी दिनुभयो । मेलामा आउने भक्तजनलाई मन्दिर व्यवस्थापन समितिले निःशुल्क प्रसाद वितरण गरेको थियो ।
यस्तै धनकुटाको भिर गाउँमा रहेको मधुगंगा र बाघेखोलामा रहेको धर्मगंगामा मकर नुहाउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो । यी ठाउँमा मकर नुहाउँदा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ । यस्तै मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । हिन्दु धर्ममा विश्वास राख्नेहरूको बिहानैदेखि मधुगंगामा भीड लागेको स्थानीय राजेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।
मधुगंगा धाम धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ। मधुगंगामा माघे संक्रान्तिसँगै मङ्सिर पूर्णिमा, साउन महिना र स्वस्थानी व्रत सुरु तथा समापन लगायतका पर्वहरूमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पूजा आजा गर्ने प्रचलन छ ।








प्रतिक्रिया राख्नुहोस्