कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुन्छ, मिल्नु जरुरी: महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसलाई एकतावद्ध हुन आग्रह गर्नुभएको छ। उहाँले दलहरू फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने बताउँदै कांग्रेसभित्र देखिएको विवादले लोकतान्त्रिक प्रणालीमा नकारात्मक असर पार्ने धारणा राख्नुभयो।
प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले केही गतिविधिले सरकार वास्तवमै कहाँबाट सञ्चालित हुँदैछ भन्ने प्रश्न उठेको बताउनुभयो। उहाँले रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने जस्ता विषयले निर्वाचनको वातावरण प्रभावित हुन सक्ने टिप्पणी गर्नुभयो।
महासचिव पोखरेलले समाजमा अझै पनि पूर्ण रूपमा शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै लुटिएका हतियार संकलन, फरार कैदी फिर्ता र प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
प्रेस चौतारी दाङका अध्यक्ष सुदासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दाङबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।








प्रतिक्रिया राख्नुहोस्