‘भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्य’
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अवलम्बन गर्न आवश्यक भएको बताउनुभएको छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रदर्शनात्मक कार्यक्रमको मङ्गलवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपद् पूर्व सूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैँ चुस्त राखिनु पर्नेमा जोड दिनुभयो ।
उहाँले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूले गरेको खोज तथा अनुसन्धानको उहाँले प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको छ । नास्टका प्रविधि सङ्काय प्रमुख डा. सुरेशकुमार ढुङ्गेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताउनुभयो । यसको लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उहाँको भनाइ छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने क्षमता विकास गर्ने र आपतकालीन अवस्थामा सही निर्णय लिन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताउनुभयो । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उहाँको भनाइ छ ।
भूकम्पविद् डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शनात्मक रूपमा प्रस्तुत गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्