तपाईँ सुन्दै हुनुहुन्छः

“युवा विद्रोह र राजनीतिक सुधारमा जोड”

'पुराना अनुभव र नयाँ सोच मिलाएर अघि बढ्नुपर्छ'

काठमाडौँ। नेपालका राजनीतिक दलहरूकै कारण युवा पुस्ताले विद्रोह गर्नुपर्ने अवस्था आएको पूर्व सांसदहरूले औँल्याउनुभएको छ। 

पूर्वसांसद मञ्चले आज सिंहदरबारमा आयोजना गरेको नेपालको वर्तमान परिस्थितिको समीक्षा र हाम्रो दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व सांसद एवम् कानूनविज्ञ राधेश्याम अधिकारीले नेपालमा लगानीमैत्री वातावरण बन्ने गरी ऐन कानुन बनाउन विधायक चुकेको  स्वीकार गर्नुभयो । 

कानुन बनाउँदा जहिले पनि पहुँचवालाको प्रभाव रहने बताउँदै उहाँले अव आउने संसद्ले त्यस्तो कमजोरी गर्न नहुने बताउनुभयो । 

अन्तरक्रियामा पूर्व सांसद लिलामणि पोखरेलले नेतृत्वविहीन जेनजी आन्दोलनले लिएको फरक रूपको समीक्षा गर्दै आगामी निर्वाचनमा होमिनुको विकल्प नभएको बताउनुभयो । 

त्यस्तै पूर्व सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल बन्द भएका कारणले मात्रै जेनजी विद्रोह नभएको भन्दै पुराना दलहरूले जनताका लागि गरेका आशाका व्यापारका कारण भएको बताउनुभयो । 

कार्यक्रममा पूर्व सांसदमञ्चका अध्यक्ष ओमकार श्रेष्ठले पुराना पुस्ताका अनुभव र नयाँ पुस्ताका  सोचलाई संश्लेषण गरेर नयाँ अघि बढ्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button