तपाईँ सुन्दै हुनुहुन्छः

एकै गाउँका ९ जनाको मृत्यु भएपछि शोकमा गाउँ

सल्यान। भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको वडा कार्यालयले जनाएको छ । 

सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा  ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३२ बर्सिया श्रीमती कविता विक, १६ बर्सिया छोरी राधा विक, १० बर्सिया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।

यस्तै ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ बर्सिया श्रीमती टीका विक, ११ बर्सिया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको  मृत्यु भएको वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिनुभयो  । उनीहरू विगत करिब दुई वर्षअघि रोजगारीका लागि भारत गएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए । 

अहिले सम्म ५ जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी कार्य जारी छ । शव तितर वितर भएकाले हालसम्म सबै शवको औपचारिक पहिचान प्रक्रिया पूरा भई नसकेको र घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन् ।

एकै गाउँका ९ जनाको एकै पटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ यति बेला गहिरो शोकमा डुबेको छ । गाउँ  शोकमा डुबेको छ भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button