तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा जलपक्षी गणना: सारसको संख्या बढ्यो, पानीचरा घटे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना सकिएको छ ।

वर्ड एजुकेसन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा यही पुस २४, २५ र २६ गते जलपक्षी गणना गरिएको हो ।

मध्यक्षेत्रको टोली संयोजक तथा संरक्षणकर्मी मनेष लिम्बूका अनुसार यसपटक दिव्यनगरमा ४३ वटा लक्ष्मण सारस भेटिए । जुन तीन वर्षमा सबैभन्दा ठुलो सङ्ख्या हो । दिव्यनगर फार्मल्यान्डमा यसपटक ९९ प्रजातिका कुल २ हजार ५३१ चरा भेटिएका थिए । दिव्यनगरमा अघिल्लो वर्ष ३४ प्रजातिका २ हजार ३७५ पानीचराहरु थिए । अघिल्लो वर्षको तुलनामा दिव्यनगरमा यसपटक पानीमा आश्रित चराको प्रजाति र सङ्ख्या दुवै घटेको छ ।

त्यसै गरी, राप्ती नदीको पटिहानी स्टोन पार्कदेखि पश्चिम गोलाघाटसम्म ७० प्रजातिका ४ हजार २८१ चरा भेटिएका छन् । त्यसमा ४५ प्रजातिका ४ हजार २८१ चरा पानीमा आश्रित थिए । राप्ती नदीमा एउटा उत्तरी जुरे हुटिट्याउँ देखिएको थियो, जो हिउँदमा दुर्लभ आप्रवासी रहेको लिम्बूले बताउनु भयो  ।

नारायणी नदीको शिवघाट क्षेत्रमा २३ प्रजातिका २५३ पानीचरा फेला पर्नुका साथै चितवन निकुञ्जको पश्चिम क्षेत्रमा रहेका निकुञ्जभित्रका देवीताल लगायतका सिमसार क्षेत्रमा ३१ प्रजातिका २११ पानीचरा भेटिएको उहाँले जानकारी दिनुभयो ।

माडी रिउ नदी क्षेत्रमा कुल ९० प्रजातिका १ हजार ९१४ चरा फेला पर्दा पानीमा आश्रित चराहरू मात्रै ४१ प्रजातिका १ हजार २०३ वटा भेटिए । डन्लिन क्यालिड्रिस अल्पिना टु लो जलङ्गलाई खरकट्टामा देखिएको थियो । यो नेपालमा एक अनियमित, दुर्लभ जाडो आगन्तुक चरा हो । रिउमा अघिल्लो वर्ष ४७ प्रजातिका १ हजार १५० पानीचरा थिए ।

पूर्वी चितवनको लोथर खोला, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीसँगै माडीको रिउ खोला, बाटुलीपोखरी, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन क्षेत्रमा पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको थियो ।

यस्तै, बूढीराप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म र राप्ती नदीको घटगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गाला, नारायणीकै गाजीपुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत जलपक्षी गणना गरिएको थियो ।

गत वर्ष चितवनमा ५३ प्रजातिका आगन्तुक जलपक्षी भेटिएका थिए । देशभर ९०४ प्रजातिका चरा रहेकोमा चितवनमा मात्रै ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । 

नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गर्ने गरिएको छ । नेपालमा जलपक्षी ठुलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button