तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको ठाना गाउँमा ‘एक घर एक धारा’ विस्तार

पर्वत। मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ।

सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो ।  बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो ।  ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो ।  यहाँ ८२ घरपरिवार छन् । 

नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र स्थानीय मोदी गाउँपालिकाको साझेदारी तथा लाभग्राहीहरुको श्रमदानमा आयोजना सम्पन्न भएको हो । युनिका फाउन्डेसन दी नेदरल्यान्डको रु ८३ लाख ३४ हजार ७२०, मोदी गाउँपालिकाको रु २४ लाख ९६ हजार १२९, समुदायको रु २७ लाख ७८ हजार ७७३ बराबरको श्रमदान गरी रु एक करोड ३६ लाख १० हजार ६२२ को लागतमा आयोजना सम्पन्न भएको ठाना खानेपानी तथा सरसफाइ परियोजनाका अध्यक्ष कमलबहादुर केसीले जानकारी दिनुभयो । 

उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ । आयोजनाबाट प्रतिदिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ । बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ ।

खानेपानी अभावका कारण स्थानीयवासीको बसाइसराइ बढ्दै गएको र गाउँमा बस्नेहरूले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले बताउनुभयो । उहाँले आयोजना सञ्चालनमा आउनु मात्र ठुलो कुरा नभई यसलाई दिगो रूपमा सञ्चालन गर्नु महत्त्वपूर्ण हुने बताउनुभयो । यसका लागि नियमित मर्मत सम्भार कोष खडा गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ । 

खानेपानी आयोजना सञ्चालनमा आए पनि ठानागाउँ र आसपासका बस्तीका गरी झन्डै ५०० जनसङ्ख्या लाभान्वित भएको स्थानीय नन्दलाल सुवेदीले जानकारी दिनुभयो । ठानाबासीको बर्सौँ देखिएको सपना पूरा भएको बताउँदै सुवेदीले यसबाट स्थानीयले पानी पिउन मात्र नभएर आयआर्जनका लागि कृषि पेसा गर्नसक्ने पनि बताउनुभएको छ  । उहाँले यसको नियमित मर्मतसम्भारका लागि समुदाय सक्रिय रहने बताउनुभयो । 

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, विद्युत्, सडक, सिँचाइ जस्ता आयोजना निर्माणका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो । 

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, सहयोगी संस्था युनिका फाउन्डेशन दी नेदरल्यान्ड, नेपाल रेडक्रस सोसाइटी कास्कीका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूले आयोजनाको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button