तपाईँ सुन्दै हुनुहुन्छः

महिलाको श्रम र आत्मनिर्भरता: रङ्गेलीमा भक्का व्यवसायी महिलालाई सम्मान

सुनसरी। महिलाको श्रम, सीप र आत्मनिर्भरतालाई सम्मान गर्दै मोरङको रङ्गेली नगरपालिकाले भक्का व्यवसायमा संलग्न महिलाहरूलाई सम्मान गर्ने भएको छ।

पुस २९ गते मनाइने राष्ट्रिय भक्का दिवसको अवसर पारेर नगरपालिकाभित्र व्यावसायिक रूपमा भक्का बनाएर जीविकोपार्जन गर्दै आएका १०२ जना महिलालाई सम्मान गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले यसअघि पनि भक्का व्यवसाय प्रवर्द्धनका लागि निरन्तर सहयोग गर्दै आएको छ। अघिल्लो वर्ष व्यावसायिक रूपमा भक्का बनाउँदै आएका १सय १७ जना महिलालाई सरसफाइमा ध्यान दिन प्रेरित गर्ने उद्देश्यले सफा भाँडा वितरण गरिएको थियो भने त्यसअघि भक्का बनाउन प्रयोग हुने चामल बीउ पुँजीका रूपमा वितरण गरिएको थियो।

यस वर्ष पनि भक्का व्यवसायलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यसहित नगरपालिकाले भक्का सुरक्षित राख्न आवश्यक हडकेस वितरण गर्ने तयारी गरेको छ। साथै राष्ट्रिय भक्का दिवसको अवसरमा १० जना महिला व्यवसायीलाई भक्का पकाउन लगाई कार्यक्रम स्थलमा सहभागी सबैलाई भक्का खुवाउने  योजना रहेको उपप्रमुख भूमा पराजुलीले जानकारी दिनुभयो।

उपप्रमुख पराजुलीका अनुसार, सो दिन भक्का पकाएबापत सम्बन्धित महिला व्यवसायीहरूलाई जनही १ हजार ५ सय रुपैयाँका दरले लागत बराबरको रकम उपलब्ध गराई सम्मान गरिने जनाइएकाे छ।

परम्परागत खानालाई व्यवसायमा रूपान्तरण गर्दै परिवारको आर्थिक आधार  बनाइरहेका महिलाहरूको श्रमलाई नगरपालिकाले सार्वजनिक रूपमा सम्मान गर्नु महिला सशक्तीकरण, स्थानीय सीपको संरक्षण र आत्मनिर्भर अर्थतन्त्रतर्फको सकारात्मक कदमका रूपमा लिन सकिन्छ। भक्का व्यवसायमार्फत पहिचान बनाइरहेका रङ्गेलीका महिलाहरूको यो सम्मानले अन्य महिलालाई पनि उद्यमशील बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ। कोच राजवंशी समुदायको संस्कृतिका रूपमा विकास हुँदै आएको भक्का हिजोआज अन्य समुदायको पनि रोजाइको व्यवसाय बन्दै गएको छ। २०७४ साल पुस २९ गतेबाट सुरु गरिएको भक्का दिवसको यो नवौँ संस्करण हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button