चुरे मधेसको छाना : मुख्यमन्त्री यादव
महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको बताउनुभएको छ । मधेसको जीवनको आधार हुँदा चुरेको संरक्षण बेगर मधेसको कल्पना गर्न नसकिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री यादवले आज महोत्तरीको बर्दिबासमा सम्पन्न ‘चुरे तथा जैविक विविधता संरक्षण एवं उपयोगका लागि नीति निर्माण’ विषयक एक दिने कार्यशालालाई सम्बोधन गर्दै भन्नुभयो, “चुरेबिना मधेसको जीवन रहन्न, तसर्थ यसको संरक्षण र समुचित व्यवस्थापन गरिन पर्छ ।”
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानअन्तर्गतको विशिष्टीकृत अनुसन्धान केन्द्र मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री यादवले चुरे संरक्षण र व्यवस्थापनमा विज्ञहरूका सुझाव प्रदेश सरकारले कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा चुरे र तराई अन्तरसम्बन्ध: नीतिगत बहस र छलफल विषयक कार्यपत्र चुरे विज्ञ डा विजयकुमार सिंहले प्रस्तुत गर्नुभयो । कार्यपत्रमा चुरेको संवेदनशील खुकुलो प्रकृतिबारे स्पष्ट पार्दै डा सिंहले चुरे संरक्षणमा प्रकृतिजन्य, मानवजन्य र नीतिगत चुनौती रहेका उल्लेख गर्नुभयो ।
त्यसैगरी डा विनोद भट्टले ‘चुरे संरक्षण: नीति, व्यवहार र कार्यान्वयन’बारे अर्को कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यशालाले चुरे संरक्षण र उपयोग नीतिबारे प्रदेश सरकारलाई सुझाव दिने मधेसको विशिष्टीकृत अनुसन्धान केन्द्रका विज्ञ सदस्य डा विद्या सागर वर्माको भनाइ छ ।







प्रतिक्रिया राख्नुहोस्