लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा आइसियु सेवा सुरु
नेपालगञ्ज । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले आइसियु सेवा सुरु गरेको छ । चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको पाँच शय्याको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा. अच्युत विक्रम हमालले जानकारी दिनुभयो । डा. हमालकै नेतृत्वमा यसअघि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २०७१ सालमा आइसियु सेवा सुरु गरिएको थियो, जुन सेवा हालसम्म निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।

सोही अनुभवका आधारमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा पनि उहाँकै नेतृत्वमा आइसियु सेवा प्रारम्भ गरिएको हो । डा. हमाल डिएम हेपाटोलोजी अर्थात् कलेजो रोगका विशेषज्ञ हुनुहुन्छ । अस्पतालमा अर्थोपेडिक सर्जन डा। श्यामकृष्ण लौडारी, फिजिसियन डा. दीपक विन्दवार, सर्जन डा. एलिना श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. रजनी महर्जन लगायतको टिमले विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालका प्रवक्ता डा विन्दवारले जानकारी दिनुभयो ।
हाल प्रहरी तथा पूर्व प्रहरीका परिवारले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । अस्पतालले छिट्टै सर्वसाधारणका लागि पनि सेवा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ । प्रदेश प्रहरी अस्पतालमा हाल आकस्मिक सेवा, जनरल ओपिडी, अर्थोपेडिक, मेडिसिनसँगै ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा छन् । अन्य आवश्यक सेवाका लागि बाहिरबाट विशेषज्ञ चिकित्सकलाई नियमित रुपमा बोलाएर उपचार सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्