बाजुराकै नमुना जुगाडा स्वास्थ्य चौकी, प्रभावकारी सेवा प्रवाहले स्थानीय खुशि
बाजुरा । भौगोलिक रूपमा विकट, सीमित स्रोतसाधन र पूर्वाधारको अभावका बाबजुद बाजुराको जुगाडा स्वास्थ्य चौकीले प्रभावकारी सेवा प्रवाह गर्दै नमूना स्वास्थ्य संस्थाको रूपमा आफ्नो पहिचान बनाउँदै गएको छ । बडिमालिका नगरपालिका–२ भौनेरामा अवस्थित उक्त स्वास्थ्य चौकीले स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र समुदायको सहकार्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।
२०३१ सालमा स्थापना भएको जुगाडा स्वास्थ्य चौकीबाट हाल दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा, गर्भवती तथा सुरक्षित सुत्केरी सेवा, किशोर–किशोरी मैत्री सेवा, खोप, सुरक्षित गर्भपतन, पोषण, प्रजनन स्वास्थ्य, लैङ्गिक हिंसा पीडितका लागि सेवा, ल्याब सेवा, स्मार्ट हेल्थ, टेलिहेल्थ र परिवार नियोजनलगायतका सेवा प्रदान हुँदै आएका छन् ।
स्वास्थ्य चौकीमा हाल एक जना जनस्वास्थ्य निरीक्षक, तीन जना अनमी, दुई जना अहेव, एक जना ल्याब टेक्निसियन, एक जना सुईपर र एक जना कार्यालय सहयोगी सहित दरबन्दी अनुसारका कर्मचारी कार्यरत हुनुहुन्छ । सेवाको नियमितता र गुणस्तरका कारण पछिल्लो समय स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । हाल दैनिक २५ जनाभन्दा बढी बिरामीले चेकजाँच तथा उपचार सेवा लिने गरेका छन् ।
स्थानीयले गाउँमै सहज रूपमा स्वास्थ्य सेवा पाउन थालेपछि खुसी व्यक्त गरेका छन् । पहिले सामान्य चेकजाँच बाहेक सेवा नपाइने अवस्था रहेको भए पनि पछिल्ला केही वर्षयता अन्य वडाबाट समेत बिरामी आउने गरेको उहाँहरूको भनाइ छ ।
जुगाडा स्वास्थ्य चौकीका इन्चार्ज तिलकराज न्यौपानेले स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ स्थानीय सरकार, जनप्रतिनिधि र समुदायको सहकार्यले स्वास्थ्य चौकीलाई यो अवस्थामा पुर्याउन सफल भएको बताउनुभयो ।
स्वास्थ्य संस्था न्यूनतम गुणस्तर मापन सूचक (एचएफएमक्यूआई) कार्यान्वयन, नियमित बैठक, छलफल, वार्षिक लेखापरीक्षण र स्वमूल्यांकनका आधारमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने अभ्यासले सेवा सुधारमा टेवा पुगेको वडा अध्यक्ष डम्मर महतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्