तपाईँ सुन्दै हुनुहुन्छः

मतदान केन्द्रमा विद्युतीकरण गर्न अनुरोध

डडेल्धुरा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाका ७ वटा मतदान केन्द्रमा विद्युतीकरण गर्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नेपाल विद्युत् प्राधिकरण डडेल्धुरालाई अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले प्राधिकरणलाई सिमेश्वर प्रावि आलिताल –३ सेरा मतदान केन्द्र, भागेश्वर मावि परशुराम –२ बसौटी केन्द्र, सिद्दनाथ मावि परशुराम –७ मलास केन्द्र , कैलपाल देवल मावि भागेश्वर–१ पत्रम केन्द्र, पशुपति आधारभूत विद्यालय भागेश्वर–१ बलडा केन्द्र , भागेश्वर आधारभूत विद्यालय भागेश्वर –२ लेकुडा केन्द्र र डम्बरपुर आधारभूत विद्यालय भागेश्वर –४ चौडमा निर्वाचनका लागि यथाशीघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन सहायक प्रमुख जिल्ला अधिकारी अमर वहादुर वलीले पत्राचार गरेको जनाउनु भयो ।

नेपाल विद्युत् प्राधिकरण डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार “कतिपय ठाउँमा विद्युतीकरणको काम चाँडै सकिने भएपनि कतिपय ठाउँका लागि साधन,स्रोत र सामाग्रीको अभाव हुने कारण प्रादेशिक कार्यालयलाई पत्राचार गरिएको छ ।” डडेल्धुरामा ९३ हजार ४ सय ३ मतदाताहरूले विभिन्न मतदान केन्द्रबाट आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button