तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चार जनाको उम्मेदवारी

धनगढी । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तीन दलबाट चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार राष्ट्रिय सभा सदस्य (अन्य र महिला) तर्फ दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अन्यतर्फ नेपाली काँग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टिकाराम जैशीले उम्मेदवारी दर्ता गराउनु भएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का लिला कुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीका रोजी बस्नेत सुनारले महिलातर्फ उम्मेदवारी दर्ता गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुदैछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रमुख दल काँग्रेस र एमालेबिच चुनावी गठबन्धन बनेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य (एक जना निलम्बन) मतदाता रहेका छन् ।  यस्तै स्थानीय तहमा १७६ जना प्रतिनिधि मतदाता (एक जना निलम्बन) रहेका छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button