तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रमा थुप्रै समस्या भए पनि सरकारले क्रमशः समाधान गर्दैछ: मन्त्री डा. परियार

नेपालगन्ज। संघीय सरकारका कृषि मन्त्री डा.मदन परियारले कृषि क्षेत्रमा थुप्रै समस्या भए पनि सरकारले क्रमशः समाधान गर्दै लगेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा आज अगुवा किसानहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो चुनावी सरकार हो । किसानलाई अहित हुने काम मन्त्रालयले गर्दैन । किसानलाई प्रोत्साहित हुने काम मात्रै गर्छ ।’

उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दूग्ध किसानको ६० करोड बढी भुक्तानी दिलाउन सफल भएको बताउनुभयो । ८५ करोड दूग्ध किसानको भुक्तानी गर्न बाँकी रहेछ, म आएपछि ६० करोड भुक्तानी भइसकेको छ, उहाँ भन्नुहुन्छ–‘निजी क्षेत्रको पनि करिब एक अर्ब भुक्तानी भइसकेको छ । अब ८०–८५ करोड बाँकी होला, त्यो पनि दुई तीन महिनामा भुक्तानी हुन्छ ।’ किसानहरुले समयमा मल नपाउने, बीउविजन नपाउने लगायतका समस्या बर्षौंदेखिका समस्या भएको भन्दै त्यसलाई क्रमशः समाधान गरिने मन्त्री परियारको भनाई छ ।

त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेश प्रसाद मिश्रले स्थानीय सरकारले किसानका सवाललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार बलियो भए किसान पनि बलियो हुने धारणा राख्नुभयो । संघीय सरकार भन्दा पनि नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय सरकारले नै किसानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी किसानहरुले समयमा मल नपाएको, बीउविजन नपाएको, अनुदानमा पहुँचवालाको मात्रै दबदबा भएको लगायतको गुनासो गरेका थिए । कोहलपुर नगरपालिकाका नगर प्रमुख सङ्गीता सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button