बाँकेका दुई बालसुधार गृहबाट भागेका ९६ बालबन्दी अझै फरार

बाँके । बाँके जिल्लाका दुईवटा बालसुधार गृहबाट जेन–जी आन्दोलनको क्रममा भागेका ९६ जना बालबन्दी अझैसम्म नियन्त्रणमा आउन सकेका छैनन् । गत भदौ २४ गते बाँकेको नौबस्ता बालसुधार गृह र डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दीमध्ये हालसम्म ९७ जनालाई मात्र नियन्त्रणमा लिइएको सम्बन्धित प्रशासनले जनाएको छ ।
नौबस्ता बालसुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार सुरक्षाकर्मीहरूसँग झडप गर्दै भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ भने बाँकी ३९ जना अझै फरार छन् । फरार बालबन्दीमध्ये अधिकांश भारत प्रवेश गरेको आशङ्का गरिएको र उनीहरूको खोजी विभिन्न माध्यमबाट जारी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, सोही दिन डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जनामध्ये ५८ जनालाई नियन्त्रणमा लिइएको छ भने ५७ जना अझै सम्पर्कविहीन अवस्थामा छन् । जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माका अनुसार केही बालबन्दीलाई प्रहरीले पक्राउ गरेको, केहीलाई अभिभावकले बुझाएको र केहीले स्वयं आत्मसमर्पण गरेका हुन् । तर अझै ठूलो सङ्ख्यामा बालबन्दी फरार रहेकाले खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।
फरार बालबन्दीमध्ये अधिकांश भारतमा लुकेको आशङ्काले खोजी कार्यमा कठिनाइ भइरहेको प्रशासनको भनाइ छ । यसैबीच, सरकारले फरार भएका बालबन्दी तथा कैदीबन्दीलाई सुधारगृह तथा कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिएको थियो । तर समयसीमा सकिँदासम्म पनि धेरै बालबन्दी तथा कैदीहरू अझै फर्किएका छैनन् ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार अधिकांश फरार बालबन्दी तथा कैदीहरू भारतमा लुकेको हुन सक्ने अनुमान गरिएको छ ।
उल्लेखनीय छ, भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागेर अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरी पाँच जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई जना घाइते भएका थिए ।
घटनापछि बालसुधार गृहको सुरक्षा व्यवस्था, बालबन्दी व्यवस्थापन र सीमापार समन्वयको आवश्यकता झन् गम्भीर रूपमा उठ्न थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्