प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लबलाई
ताप्लेजुङ । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लब चाँगेले चुमेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिममा शनिबार सम्पन्न भएको फाइनल खेलमा लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुङखिमलाई ३—० गोलअन्तरले पराजित गर्दै चाँगेले उपाधि चुमेको हो ।

उपाधिसँगै माछापोखरी हिटी क्लब चाँगेले नगद ३ लाख २ हजार ८२ रुपियाँ र उपविजेता लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुङखिमले नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा जनसेवा आदर्श क्लब ढुङ्गे साँघुलाई पराजित गर्दै माछापोखरी हिटी क्लब र नवप्रयास युथ क्लब हाङ्देवालाई पराजित गर्दै लालीगुराँस स्पोर्टिङ युवा क्लब फाइनलमा पुगेको थियो ।
स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडी डाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि आयोजना गरिएको गोल्डकपको विजेता तथा उपविजेतालाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू,उपाध्यक्ष रवीन साम्रा (विकास) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
मानाभरा स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपले पुष १५ गते देखि आयोजना गरेको प्रतियोगितामा आमन्त्रित पाहुना टोली लिखुभुजी रामेछाप क्लबसहित आठ टोली सहभागी रहेको आयोजक क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्