तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपको फाइनलमा प्रवेश

काठमाडौँ । विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ सेटको जित निकाल्दै नेपाल पुलिस क्लब नवौं एनभिए च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा महिलातर्फ पुलिसले आर्मीको चुनौती २५–१२, २९–३१, २५–१४, २५–१८ ले पन्छायो ।

पुलिसले शनिबार फाइनलमा न्यु डायमन्ड स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटले हराउँदै न्यु डायमन्डले फाइनलमा आफ्नो स्थानलाई सुरक्षित गर्‍यो ।

त्यसैगरी, साबिक विजेता हेल्प नेपाल लगातार नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१९ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू–१९ महिला टोलीको प्रारम्भिक खेलाडी छनोट सूची सार्वजनिक गरेको छ ।

प्रतियोगिता आगामी जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरामा आयोजना हुँदैछ । एन्फाले छनोट सूचीमा परेका सबै खेलाडीलाई आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा उपस्थित हुन अनुरोध गरेको छ । 

उनीहरूबिच हुने छनोट खेलपछि अन्तिम टोली तय गरिनेछ । टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ रहने एन्फाले जनाएको छ । छनोटपछि तयार हुने अन्तिम टोलीले घरेलु मैदान पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button