प्रवासमै देउडाको संरक्षणमा जुटे सुदूरपश्चिमका महिलाहरू
मुम्बई भारत । बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा भारतको मुम्बई पुगेका नेपाली महिलाहरू प्रवासमै बसेर आफ्नो देशको कला, संस्कृति र मौलिक परम्पराको जगेर्नामा सक्रिय देखिएका छन्। व्यस्त कामकाजी जीवनबिच पनि नेपाली पहिचान झल्किने देउडा नाच–गीतलाई निरन्तरता दिँदै आएका छन्।

स्थानीय महिलाहरूका अनुसार महिनामा एकदेखि दुई पटकसम्म कामबाट बिदा लिएर अनिवार्य रूपमा देउडा खेल्ने गरिएको छ। परम्परागत स्थानीय पहिरनमा सजिएर देउडा खेल्नुका साथै हुड्केउली जस्ता मौलिक सांस्कृतिक गतिविधि पनि सञ्चालन गरिँदै आएको छ। यसले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता बढाउनुका साथै नयाँ पुस्तामा पनि नेपाली संस्कृतिप्रति आकर्षण पैदा गरेको उनीहरूको भनाइ छ।

बडिमालिका नगरपालिका–५, मनाका कलक मिजारका अनुसार प्रवासमा रहेर पनि देउडाको संरक्षण र प्रवर्द्धन गर्नु आफ्नो कर्तव्य ठानेर महिलाहरू सक्रिय भएका हुन्। मिजार स्वयं विगत १० वर्षदेखि देउडाको संरक्षणमा निरन्तर लाग्दै आउनुभएको छ। “देश टाढा भए पनि संस्कृति टाढा हुनु हुँदैन भन्ने भावनाले महिलाहरू परम्परागत पोसाकसहित देउडा खेलिरहेका छन्,” उहाँले भन्नुभयो ।
स्थानीय महिलाहरूले देशप्रतिको माया र मौलिक कला–संस्कृतिको संरक्षणका लागि आफूहरू सक्रियताका साथ देउडामा सहभागी भइरहेको बताएका छन्। देउडा खेलाडी अनिता सुनारका अनुसार देउडा केवल मनोरञ्जन मात्र नभई आफ्नो पहिचान, भाषा र संस्कृतिको प्रतीक भएकाले यसलाई जोगाउनु सबैको दायित्व हो।
प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति जगेर्नामा महिलाहरूले देखाएको सक्रियता सुदूरपश्चिमको कला–संस्कृति संरक्षणका लागि प्रेरणादायी उदाहरण बनिरहेको छ।








प्रतिक्रिया राख्नुहोस्