तपाईँ सुन्दै हुनुहुन्छः

तस्करी नियन्त्रणमा कडाइ गर्न लुम्बिनी सरकारसँग उद्योग वाणिज्य संघको आग्रह

बाँके। नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले तस्करी नियन्त्रणका लागि ठोस पहल गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई सातबुँदे ज्ञापन पत्र बुझाएको छ।

संघको ५८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाललाई ज्ञापन पत्र हस्तान्तरण गरे।

ज्ञापन पत्रमा सीमावर्ती भारतीय बजार रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले लागू गरेको जस्तै परिचय पत्र चेकजाँचको व्यवस्था जमुनाहा नाकामा पनि लागू गर्न माग गरिएको छ। क्यारिङ शुल्क तिरेपछि भारतीय बजारबाट तस्करीका सामान सहजै नेपालगन्ज आइपुग्ने गरेको उल्लेख गर्दै यसमा प्रहरी प्रशासन र भन्सारको मिलेमतो हुनसक्ने आशंका संघले व्यक्त गरेको छ।

संघले सम्भावित तस्करी नाकामा ब्यारियर राख्ने र सशस्त्र प्रहरीको अस्थायी पोस्ट स्थापना गर्नुपर्ने, पैदल रिक्सा मार्फत हुने निर्बाध सीमा वारपार रोक्नुपर्ने माग गरेको छ। सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा साना भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा समेटिएको छ।

त्यस्तै जमुनाहा नाकामा स्क्यानर मेसिन जडान गरी अनिवार्य चेकजाँचको व्यवस्था गर्नुपर्ने, नेपालगन्ज भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्नुको कारण अध्ययन गरी अवैध आयात–निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।

ज्ञापन पत्र बुझ्दै मन्त्री अग्रवालले तस्करी र क्यारिङ नियन्त्रणमा असफल भए प्रहरी प्रशासनमाथि कारबाही गरिने चेतावनी दिए। उनले भने, “डिआइजी, आइजी, सिडियो र एसपीलाई पटक–पटक भन्दा पनि सुधार नआएको गुनासो छ। सूचना दिनुस्, कहाँ भइरहेको छ भन्नुस्। अब कारबाही गर्ने भनेर म पत्र नै तयार गर्दैछु।” उनले यस विषयमा गृह मन्त्रालय, प्रहरी प्रमुख र प्रदेश प्रमुखसँग समन्वय गरेर अघि बढ्ने बताए।

कार्यक्रम संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। द्वितीय उपाध्यक्ष हरिलाल न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ तथा संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले उद्योग वाणिज्य संघले जिल्लामा पुर्‍याएको योगदानको प्रशंसा गरे।

चार पूर्वअध्यक्ष सम्मानित

संघको ५८औँ वार्षिकोत्सवको अवसरमा चार जना पूर्वअध्यक्षलाई सम्मान गरिएको छ। प्रमुख अतिथि मन्त्री अग्रवाल र कार्यवाहक अध्यक्ष ओलीले कन्हैयालाल टण्डन, सतिशचन्द्र अग्रवाल, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई दोसल्ला ओढाएर सम्मान गरे। सो अवसरमा संघका पूर्वपदाधिकारी र सदस्यहरूलाई पनि टोपी लगाएर सम्मान गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button