तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरका पहिलो डाक्टर सैयद वकार अहमद: हजुरआमाको सपना, गाउँको आशा

बाँके।कहिल्यै डाक्टर नदेखेको, अस्पताल टाढा–टाढा रहेको भूगोल हो नरैनापुर। यही दुर्गम माटोबाट उठेर सेतो एप्रोन लगाउने पहिलो व्यक्ति बनेका छन्, डा. सैयद वकार अहमद। आज उनी आधुनिक अस्पताल र व्यस्त चिकित्सकीय जीवनमा छन्, तर उनको मन बारम्बार जन्मथलो नरैनापुर–२, गंगापुरतर्फ फर्किन्छ।

२०३२ सालमा जन्मिएका सैयदको बाल्यकाल अभाव र दुर्गमतामै बित्यो। सडक र बिजुली थिएन। नेपालगन्ज पुग्न भारतको बहराइच हुँदै १३२ किलोमिटर घुम्नुपर्थ्यो। त्यसैले उनी बहराइचमै हुर्किए, पढे र जीवनका प्रारम्भिक संघर्ष त्यहीँ भोगे।

उनका बुवा सैयद मुस्ताक अहमद इस्लाम धर्मगुरु मात्र होइन, समाजसेवामा सक्रिय व्यक्ति थिए। खेतीपाती र समाजसेवाबीच हुर्किएका सैयदले सानैदेखि पढाइप्रतिको महत्व बुझ्दै गए। डाक्टर बन्ने चाहना बाल्यकालमै स्पष्ट थिएन। पछि थाहा भयो, उनको हजुरआमाले जन्मँदै भनेकी थिइन्, “यसलाई डाक्टर बनाउनुपर्छ।” यही वाक्य उनको जीवनको दिशानिर्देशक बन्यो।

प्लस टु सकेपछि उनले चिकित्साशास्त्र रोजे। सन् २००० मा बंगलादेशबाट एमबीबीएस र २००६ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडी (मेडिसिन) पूरा गरे। विभिन्न देशमा तालिम लिए, धरानमै अध्यापन गरे र २००७ यता नोबेल मेडिकल कलेज, विराटनगरमा कन्सल्टेन्ट फिजिसियनका रूपमा सेवा दिँदै आएका छन्।

आज उनको बसोबास विराटनगरमा छ। आधुनिक अस्पताल र सुविधा सम्पन्न जीवन छ। तर नरैनापुर सम्झँदा उपचार नपाएर छटपटाएका अनुहारहरू अझै सम्झनामा आउँछन्। त्यसैले उनी वर्षमा पाँच–छ पटक गंगापुर पुग्छन्। त्यो यात्रा घर फर्किने मात्र होइन, सेवाको जिम्मेवारी बोकेको यात्रा हुन्छ।

गाउँ पुगेपछि उनी उपचारमै सीमित हुँदैनन्। रोग लागेपछि मात्र होइन, रोग लाग्न नदिन के गर्ने भन्नेबारे स्वास्थ्य शिक्षा दिन्छन्। कहिलेकाहीँ राति पनि बिरामीको घर–घर पुगेर सेवा दिन्छन्। निःशुल्क स्वास्थ्य शिविरमा अग्रपंक्तिमा उभिन्छन्।

उनी भन्छन्, “जुन भूगोलबाट म पहिलो डाक्टर बनेँ, त्यसप्रति स्वाभाविक रूपमा गर्व लाग्छ। विदाको मौका मिल्यो भने जन्मथलो जान्छु। त्यहाँका नागरिकलाई सकेसम्म स्वास्थ्य सेवा र सचेतना दिनु नै मेरो कर्तव्य हो।”

नरैनापुरका लागि डा. सैयद केवल डाक्टर होइनन्, आशाका प्रतीक हुन्। सम्भावना देख्न गाह्रो रहेको समाजबाट उठेर सम्भावनाको उदाहरण बनेका उनी युवाहरूका लागि जीवित प्रेरणा हुन्—अभावले सपनालाई रोक्दैन भन्ने सन्देश।

लायन्स क्लब र रोटरी क्लबजस्ता संस्थामार्फत उनी समाजसेवामा पनि सक्रिय छन्। नरैनापुरबासी उनलाई चिकित्सकभन्दा बढी समाजसेवीका रूपमा चिन्छन्।

आफ्नो यात्रालाई सम्झिँदै उनी भन्छन्, “आज गर्व लाग्छ। तर त्यो गर्व मेरो मात्र होइन। यो चार दशकअघिको संघर्ष, अभाव र नथाक्ने सपनाको विजय हो। अँध्यारोबाट उज्यालोसम्म आइपुग्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेछ।”

गंगापुरको माटोबाट सुरु भएको यो यात्रा आज विराटनगरसम्म आइपुगेको छ। तर डा. सैयद वकार अहमदका लागि अन्तिम गन्तव्य अझै पनि त्यही हो—जहाँबाट सपनाले पहिलोपटक आँखा खोलेको थियो। उनी नरैनापुर फर्किएर जनताको सेवा गर्ने सोचमा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button