तपाईँ सुन्दै हुनुहुन्छः

एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आज बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आज एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी जानकारी दिने, यस सम्बन्धी सुझावहरू सङ्कलन गर्ने र यस प्रणालीमा आवद्ध हुन बैङ्क तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राधिकरणले जनाएको छ  ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले जारी गरेको बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ मा बीमकले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था भए बमोजिम एयरमार्क प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“एयरमार्क प्रणालीले स्वचालित रूपमा बीमकका सही विवरण मात्र स्वीकार गर्छ, त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्छ र एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई नै स्वचालित रूपमा फिर्ता पठाउने कार्य गर्छ, जसले गर्दा बैङ्कबाट हुने मुद्दतीको ब्लक र अनब्लक सम्बन्धी प्रक्रिया पूर्ण रूपमा स्वचालित हुन्छ ।”, उहाँले  भन्नुभयो । 

कार्यकारी निर्देशक सुवेदीले एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन प्रविधिको प्रयोगले बीमकहरूका मुद्दती निक्षेपमा लगानीको एयरमार्क सम्बन्धी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित भई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष तथा पारदर्शी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आगामी दिनमा एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लगिने उल्लेख गर्नुहुँदै यस प्रणालीमा आवद्ध हुन सबै बैङ्क तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक तथा गैर स्थलगत शाखाका प्रमुख राजेन्द्र महर्जनले एयरमार्कको वर्तमान अवस्था, एयरमार्क प्रणालीमा विद्यमान समस्या र सोको समाधानका लागि प्राधिकरणले गरेको सुधारका प्रयासहरू सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

यसैगरी, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक रविन्द्र श्रेष्ठले एयरमार्क तथा ए.पी.आई. इन्टिग्रेशन गर्दा गर्नुपर्ने प्राविधिक पक्ष र सफ्टवेयर एयरमार्क प्रणाली सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दहालले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन प्रणालीको कार्यान्वयनबाट बीमा नियमन, अनुगमन तथा निरीक्षण कार्यमा पारदर्शिता एवम् दक्षता अभिवृद्धि भई समग्र बीमा क्षेत्रको विश्वसनीयता थप मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button