तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि सहज वातावरण बनाउनु आवश्यक : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित रुपमा सम्पन्न गर्न सरकारले सुरक्षाको वातावरण बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा विराटनगरमा आज आयोजित शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले कोशी प्रदेशका केही जिल्लामा निर्वाचनका लागि अझै पनि सुरक्षा चुनौती रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले बुधबार विराटनगरमा आयोजना गरिएको निर्वाचन लक्षित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा केही जिल्लामा अझै पनि निर्वाचनका लागि सुरक्षा चुनौती रहेको कुरा जानकारीमा आएकाले निर्वाचनका लागि सहज वातावरण बनाउनु आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

नेकपा एमालेका सचिव समेत रहनुभएका मुख्यमन्त्री कार्कीले निर्वाचनबाट आफ्नो पार्टी पछि नहट्ने भन्नुहुँदै तर निर्वाचनमा सबै दलले निर्बाध रुपमा भाग लिने उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो । संसद् पुनर्स्थापनाको माग र निर्वाचनको तयारीलाई  आफ्नो पार्टीले सँगै अघि बढाएको उहाँको भनाई थियो । 

मुख्यमन्त्री कार्कीले संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्दै निर्वाचन प्रणालीमा सुधार गरेर निर्वाचनमा जाँदा मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताउनुभयो ।

सो अवसरमा शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरका पत्रकार रेणु पराजुलीलाई नगदसहित सम्मान गरिएको थियो । सो पुरस्कारको राशि २१ हजार रुपैयाँ रहेको छ । 

सो अवसरमा नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा मोरङ जिल्लाबाट निर्वाचित भएका पार्टीका केन्द्रिय सदस्यहरूलाई स्वागत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button