तपाईँ सुन्दै हुनुहुन्छः

जंगलबाट बाजासम्म : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका महिलाले पञ्चेबाजाबाट फेरे जीवनको लय

बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका महिलाहरूले परम्परागत पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनमार्फत आयआर्जनको नयाँ बाटो अपनाएका छन्। वन तथा वन्यजन्तु संरक्षणसँगै महिलाको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सुरु गरिएको यो प्रयास प्रभावकारी र प्रेरणादायी बन्दै गएको छ।

नेपाली सांस्कृतिक पहिचानको महत्वपूर्ण अङ्ग मानिने पञ्चेबाजा आधुनिक संगीत र प्रविधिको प्रभावका कारण ओझेल पर्दै गएको अवस्थामा राप्ती सोनारी गाउँपालिका–८ का महिलाहरूले यसलाई संरक्षण गर्दै आम्दानीको स्रोत बनाएका छन्। पहिले घरधन्दा र जंगलमा निर्भर दैनिकीमा सीमित महिलाहरू अहिले पञ्चेबाजाको तालमा आत्मनिर्भर बन्दै गएका छन्।

पञ्चेबाजा टिमकी दिया बस्नेत भन्नुहुन्छ, “हामी पहिले जंगलबाट स्याउला–सोत्तर ल्याएर गुजारा चलाउँथ्यौं। अहिले बाजा बजाएर आम्दानी गर्न पाउँदा आत्मसम्मान बढेको छ।”
तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत महिलालाई बाजा बजाउने तालिम, आवश्यक सामग्री र समूह व्यवस्थापनमा सहयोग गरिएको थियो। यसले उनीहरूको सीपसँगै पहिचान पनि बदलिएको छ।

पञ्चेबाजा टिमकी मैसरा खत्रीका अनुसार, “पहिले हामीलाई कसैले चिन्दैनथ्यो, अहिले विवाह र व्रतबन्धजस्ता कार्यक्रममा बोलाइन्छ।” पञ्चेबाजा लिएर उनीहरू बर्दिया, सुर्खेत, दाङ र सल्यानलगायत जिल्लामा जाने गरेका छन्। एक कार्यक्रममा ३० हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्।

यसले महिलाको आर्थिक अवस्था मात्र होइन, समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याएको समूहकी धनमाया बिष्ट बताउनुहुन्छ। “पहिले घरभित्र सीमित थियौं, अहिले बाहिर गएर काम गर्छौं। समाजले सम्मान गर्न थालेको छ,” उहाँले भन्नुभयो। आम्दानी बढेसँगै महिलाहरू सामूहिक निर्णय र सामाजिक गतिविधिमा पनि सक्रिय हुन थालेका छन्।

पञ्चेबाजा संरक्षण समूहकी अध्यक्ष भिमा बिष्टका अनुसार संरक्षण र आयआर्जनलाई एकसाथ जोड्ने यस पहलले महिलालाई थप हौसला दिएको छ। “संस्कृति जोगाउँदै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हामीले देखाएका छौं,” उहाँले बताउनुभयो। पञ्चेबाजाको अभ्याससँगै उनीहरू सांस्कृतिक सचेतना र पर्या–पर्यटन प्रवर्द्धनमा पनि सक्रिय छन्।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समूहअन्तर्गत राप्ती सोनारी गाउँपालिका–८ का महिला समूहहरूले पञ्चेबाजालाई दिगो आम्दानीको स्रोतका रूपमा विकास गर्दै लगेका छन्। संरक्षण र जीविकोपार्जनलाई जोड्ने यो पहलले पञ्चेबाजालाई महिलाको सशक्तीकरण र समृद्धिको माध्यम बनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button