भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज साँझदेखि सुरु भएको छ ।
भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको हो ।
भैरवनाथको पूजा सुरु भएसँगै सुरु हुने यो जात्रामा दिउँसो स्थानीयको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा सुरु भएको हो।
तीनतले भैरवनाथको रथ र भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ तान्न सुरु गरिएको छ ।
लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २ सय मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्यपूजा सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।
जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ ।
रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने जात्रालाई मर्यादित,व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न सरोकारवाला संघ संस्थाहरूबिच समन्वय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्