तपाईँ सुन्दै हुनुहुन्छः

चिसोले बाँकेको जनजीवन प्रभावित, दाउरा र कम्बल वितरण गर्दै स्थानीय सरकार

नेपालगञ्ज । बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । बाँकेका स्थानीय तहले दाउरा वितरण गर्न थालेका छन् । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार जिल्लाका आठ वटै पालिकाले दाउरा वितरण गरिरहेका छन् । 

पुस लागेदेखि बाँकेमा एकाध दिन बाहेक घामै लागेको छैन । स्थानीय तहले गरिब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन् । हालसम्म विभिन्न पालिकामा १०८० थान कम्बल वितरण भइसकेको ज्ञवालीले जानकारी दिनुभयो । जानकी गाउँपालिकामा ८००, राप्तीसोनारी गाउँपालिकामा १८०, कोहलपुर खजुरामा ५०र५० थान कम्बल वितरण गरिएको छ । बैजनाथले पनि कम्बल वितरण सुरु गरेको जनाएको छ । १७८० थान कम्बल मौज्दात छ ।

यस्तै सार्वजनिक स्थानमा आगो बाल्नका लागि ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ र राप्तीसोनारीले २र२ चट्टा दाउरा वितरण गरिसकेका छन् भने अन्य पालिकामा पनि वितरण हुँदैछ । नेपालगन्ज उपमहानगरपालिकाले पनि दाउरा वितरण गर्न सुरु गरेको छ । 

सार्वजनिक स्थान, चोक, मानिसको भिडभाड हुने ठाउँहरूमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । अत्यधिक चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा आगो ताप्नको लागि दाउरा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बाँकेमा अत्यधिक चिसो बढेका कारण शीतलहर पूर्व कार्य अन्तर्गत स्थानीय तहहरुले दाउरा वितरण गर्ने, चिसोबाट जोगिन विभिन्न सचेतनाको काम गर्न सुरु गरिएको बताउनुभयो ।

यसैबीच नेपाली सेनाको बज्रदल गण राँझाले चिसो पीडितहरूलाई जिल्लाका खजुरा, पुरनै, फुलटेक्रा, आलानगर लगायत विभिन्न स्थानहरूमा आगो ताप्न दाउरा सहयोग गरेको गणका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी यहाँका सबै पालिकाले विद्यालयहरूमा जाडो बिदा दिएका छन् । बाँकेमा जिल्ला विपद् व्यवस्थापन समितिले चिसो तथा शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी सोही अनुसार काम गरिरहेको जनाएको छ । उक्त योजना अनुसार यस बर्ष बाँकेमा ३६ हजार घरपरिवारका १ लाख ७६ हजार मानिस चिसो तथा शीतलहरूबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button