तपाईँ सुन्दै हुनुहुन्छः

तमोर-मेवा जलविद्युत आयोजनाको २२ प्रतिशत बढी काम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन तमोर—मेवा जलविद्युत आयोजनाको २२ प्रतिशत बढी काम सम्पन्न भएको छ ।

स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको १२८ मेगावाटको जलविद्युत आयोजनाको २२ प्रतिशत काम सम्पन्न भएको हो । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्र कुमार लिम्बूका अनुसार पावर हाउस, इन्टेक लगायतका संरचनाका,मुख्य कार्यालय, कर्मचारी आवास भवन, कामदार आवास भवन सहितका संरचना निर्माण पूरा भएको र आयोजना स्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भएको बताउनुभयो ।

सञ्चालन लिम्बुका अनुसार आयोजनाका लागि आधारभूत संरचना तयार भइसकेको र अबको अढाई देखि तीन महिनाभित्र आयोजनाका मुख्य संरचनामा ब्लास्टिङ सहितका कार्य अघि बढ्ने बताउनुभयो । भने क्रसर लगायतका सम्पूर्ण काम सम्पन्न हुन लागेको बताउनुभयो । सुरुमा तमोर र मेवाको पानी मिसाएर १२८ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भनिएपनि तमोरकै पानीबाट १४५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने समेत सञ्चालक लिम्बु बताउनुहुन्छ ।

आयोजना सम्पन्न गर्न कुल लागत २६ अर्ब रुपैयाँ हुने र त्यसमध्ये बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत अर्थात् १७ अर्ब ६८ करोड हुने समेत सञ्चालक लिम्बु बताउनुहुन्छ । बाँकी २५ प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड स्वपुँजी (ईक्विटी) हुने छ ।

आयोजनाले सुरुको डिजाइनमा आमबोटे खोल्सी नजिक सुरुङ रहेकोमा त्यहाँभन्दा केही माथि थाङने खोल्सा नजिकबाट ५ किलोमिटर लामो सुरुङमार्ग मार्फत पानी प्रवाह भई गुँहेली नजिक रहेको पावर हाउसमा पानी झार्ने आयोजनाको तयारी छ । हाङदेवा कटहरेदेखि डेढ किलोमिटर हेडरेस पाइपमार्फत पानी ल्याउने र थाङ्नेखोला नजिकबाट सुरु हुने भूमिगत सुरुङमार्ग मार्फत पानी गुँहेली क्षेत्रमा रहेको पावर हाउसमा खसाइने आयोजनले जनाएको छ  ।

आयोजना ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १, २, ३,८ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, र २ मेरिङ्देन गाउँपालिकाको वडा नं ३ मा रहेको छ ।  आयोजना निर्माणमा कुनै अवरोध नभए २०८५ असोज २५ गते देखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

स्पार्क हाइड्रोइलेक्ट्रिकले यसअघि नै २०७७ असोज २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरेको थियो  । त्यस्तै, पर्यावरणीय प्रभाव मूल्याङ्कन  प्रतिवेदन २०७५ असार ३१ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको  थियो । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता २०८० असोज २४ गते सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् मैवाखोलाको ढुङगेसाँघुस्थित विद्युत् सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने लक्ष्य राखिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button