तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद सुरु

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वर भूमि भएको बताउनुभएको छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै उहाँले यस्ता प्रतियोगिताले नयाँ प्रतिभाहरूको उजागर हुने बताउनुभयो । उहाँले खेलकुदलाई प्रविधिसँग जोड्न सकियो भने त्यसले यस क्षेत्रको पहिचान स्थापित गर्ने धारणा समेत व्यक्त गर्नुभयो ।

मन्त्री तिमिल्सेनाले सामाजिक विकास मन्त्रालयले खेलकुद र शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको पनि बताउनुभयो । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरूले प्रदेशकै प्रतिनिधित्व गर्ने भएकाले निष्पक्ष भएर खेलाडी छनौट गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले खेलकुद नेपालगन्जको पहिचान भएको बताउनुभयो । उहाँले नेपालगन्जका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेर नेपालगन्जको पहिचान दिलाएको उल्लेख गर्नुभयो । खेलकुदका गतिविधिहरूलाई चलायमान गराउन विद्यालयले पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेलकुदले युवाहरूलाई अनुशासित बनाउने बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । १४ गतेसम्म चल्ने प्रतियोगितामा उपमहानगरका माध्यमिक तहका ५० र आधारभूत तहका ५१ वटा विद्यालयका छात्र(छात्राहरूले प्रतिस्पर्धा गर्ने प्याब्सन नगर सचिव विज्ञान शाहले बताउनुभयो । नेपालगन्ज रङ्गशालामा सुरु भएको प्रतियोगिता उद्घाटन अघि बिपी चोकबाट वृहत् प्रभातफेरी निकालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button