तमोर फाइभमा कार्यरत एक मजदुरको मृत्यु, एक घाइते
ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित निर्माणाधीन तमोर फाईभ हाइड्रोपावरको सुरुङमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमका अनुसार आटलेट हाइड्रोपावरको सुरुङमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दैलेख, गुराँस गाउँपालिका–३ का वर्ष २४ का भद्र बहादुर शाही गम्भीर घाइते भएका थिए । शाहीलाई बिहान १० बजे आधारभूत अस्पताल तापेथोकमा ल्याइएको थियो । अस्पतालमा डाक्टरले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीको भनाई छ ।
यता बर्दिया, मधुवन नगरपालिका–४ का वर्ष ३३ को आकाश खड्काको घाइते अवस्थामा उपचार भइरहेको छ । उनको सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । मृतक भद्र बहादुर शाहीको शव जिल्ला अस्पताल ताप्लेजुङतर्फ ल्याउँदै गरेको समेत प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी आषिश पोखरेलको कमाण्डमा टोली पुनः खटिएको छ । घटना स्थल प्रहरी चौकी तापेथोकबाट ३ किलोमिटर उत्तरमा रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्