भेरी अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट मेरुदण्डको नसा च्यापिएका बिरामीको शल्यक्रिया
नेपालगन्ज । विशिष्टीकृत सेवा प्रवाह गर्दै आएको भेरी अस्पतालमा मेरुदण्डको नसा च्यापिएका बिरामीको पहिलोपटक अत्याधुनिक दूरबिन प्रविधिको प्रयोग गरी शल्यक्रिया गरिएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारको बजेटबाट उपकरण खरिद गरिएको थियो । जाजरकोटका २३ वर्षीय युवकलाई करिब तीन घण्टा लामो शल्यक्रिया गरिएको हो ।
स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो । ‘स्पाइन सर्जरीको क्षेत्रमा भेरी अस्पतालको यो ऐतिहासिक उपलब्धि हो, उहाँले भन्नुभयो–‘अस्पतालमा पहिलोपटक अत्याधुनिक UBE (Unilateral Biportal Endoscopy) प्रविधिबाट L4/L5 छ डिस्क हर्निएसनको सफल शल्यक्रिया भएको छ ।’ यस प्रविधिबाट गरिएको शल्यक्रियामा रक्तस्राव न्यून हुने, सङ्क्रमणको जोखिम कम हुने, शल्यक्रियापछिको पीडा घट्ने तथा बिरामी छिटो सामान्य जीवनमा फर्किन सक्ने स्पाइन सर्जन डा।थापा बताउनुहुन्छ ।
डा। थापाका अनुसार मेरुदण्डको नसा च्यापिने समस्या समयमै उपचार नहुँदा बिरामी पक्षाघातसम्मको जोखिममा पर्न सक्छन् । दूरबिन प्रविधिबाट यस्ता शल्यक्रिया गर्न चाहने बिरामीहरू काठमाडौँ वा भारतका महँगा अस्पताल धाउन बाध्य छन् । अब नसा च्यापिएका बिरामीलाई सहज हुनेछ । भेरी अस्पतालमा अब नियमित रुपमा UBE इन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु गरिने पनि उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्