तपाईँ सुन्दै हुनुहुन्छः

२२ औँ माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता पुस ११ देखि सुरु हुने

भारत, भुटान सहित नेपालका चर्चित १ सय ६० खेलाडी सहभागी हुँदै

पोखरा । पोखरामा यही पुस ११ गते (शुक्रबार) देखि २२ औँ माछापुच्छ्रे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारत, भुटान सहित नेपालका चर्चित १ सय ६० जना खेलाडीहरू सहभागी हुने भएको बुधबार (आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगितामा पुरुष तथा महिला ओपन सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथिका विभिन्न उमेर समूह गरी कुल १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष राम कुमार गुरुङले जानकारी दिनुभयो । ओपनतर्फ पुरुष तथा महिला सिंगल्स विजेताले जनही नगद ८० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनलिस्टले नगद २० हजार सहित मेडल पाउने छन्। त्यसैगरी पुरुष तथा महिला डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनलिस्टले १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सङ्घले जनाएको छ । उमेर समूह अनुसारका अन्य इभेन्टहरूमा पनि आकर्षक नगद पुरस्कार, ट्रफी तथा मेडलको व्यवस्था गरिएको छ ।

३५ बर्ष माथि उमेर समूहमा सिङ्गल तर्फको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार प्रदान गरिने भएको छ । त्यसै गरी यस इभेन्टको डबल्स तर्फ विजेतालाई २० हजार उपविजेतालाई १० हजार प्रदान गरिने भएको छ । ४५ बर्ष माथि एकल तर्फको विधामा विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार प्रदान गरिने भएको छ भने डवल्स तर्फ विजेतालाई २० र उपविजेताले १० हजार प्रदान  गरिने भएको छ । त्यस्तै ५५ बर्ष माथि उमेर समूह सिङ्गल तर्फ विजेतालाई ३० हजार उपविजेतालाई १५ हजार, डबल्स तर्फको विजेतालाई भने २० हजार र १० हजार पुरस्कार व्यवस्था गरिएको छ ।६५ बर्ष माथि सिङ्गल तर्फको विजेतालाई १५ हजार उपविजेतालाई ७ हजार ५ सय, डबल्स तर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

संघका सचिव तथा कार्यक्रम संयोजक विश्वराज पौडेलका अनुसार टेनिस कोर्टमा लाइट जडानका लागि सहयोग सङ्कलन गर्ने उद्देश्यले प्रतियोगिताको अवसरमा गाला डिनर कार्यक्रम समेत आयोजना गरिनेछ । उक्त प्रतियोगिताले खेलकुदसँगै पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्तीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button