तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली राजनीतिमा निष्ठाको खडेरी परिरहेको छ : सह-महामन्त्री राठौर

नेपालगन्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौरले नेपाली राजनीतिमा निष्ठाको खडेरी परिरहेको बताउनुभएको छ । नेपालगन्जमा आज नेपाली कांग्रेस बाँकेद्वारा नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन गर्दै सह-महामन्त्री राठौरले निष्ठा, आदर्श, मूल्य(मान्यता र नैतिकता कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो ।

पार्टीभित्र निषेध पर्ने प्रवृत्ति बढेको भन्दै उहाँले एकले अर्काको सम्मान पर्ने परिपाटी बसाउन आवश्यक रहेकोमा जोड दिनुभयो । सह-महामन्त्री राठौरले कांग्रेस मुलुकको जिम्मेवार पार्टी भएको भन्दै समस्या र चुनौतीसँग नभाग्ने बताउनुभयो । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यहरु दीपक गिरी, संजय गौतम, गोपाल दहित, मान बहादुर नेपाली लगायतले बोल्नुभएको थियो ।

भवन निर्माण समिति संयोजक जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले करिब १ करोड २० लाखमा भवन निर्माण कार्य सम्पन्न जानकारी दिनुभयो । त्यस अवसरमा ५ जना पत्रकारसहित भवन निर्माणमा सहयोग गर्ने सबैलाई सम्मान गरिएको थियो । 

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्व। कृष्ण प्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसर पारेर नवनिर्मित भवनको उद्घाटन गरिएको जिल्ला सचिव सुधांशु कोइरालाले बताउनुभयो । भवन उद्घाटनका लागि पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र महामन्त्री गगन कुमार थापा आउने कार्यक्रम रहे पनि खराब मौसमका कारण आज जहाज नउडेपछि उहाँहरू उपस्थित हुन नसकेको प्रवक्ता डिल्ली गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button