‘सार्वजनिक सेवा प्रसारण नेपालले नागरिकलाई पहिलो मानेर काम गर्न जरुरी’
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले नागरिकलाई पहिलो मानेर नागरिकका रुचि र सत्य तथ्य सामाग्री उत्पादन तथा प्रसारण सार्वजनिक सेवा प्रसारण नेपालको मुख्य दायित्व भएको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएका कर्मचारीहरूको सम्मानमा आज रेडियो नेपालमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बिष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारणको रुपमा एउटै छातामा आएकाले अब विगतका अनुभव र समय सापेक्ष रुपमा दिनुपर्ने नवीनतालाई मध्यनजर गरी काम गर्न पनि सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानले सेवा निवृत्तका अनुभवबाट सिकेर आगामी दिनमा संस्थाको प्रगतिका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सेवा निवृत्त हुन लाग्नुभएका सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालका नायब कार्यकारी निर्देशक पुष्करराज गौतमले रेडियो नेपालको साख बढाउने गरी आफूले निरन्तर रुपमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा ,रेडियो नेपालका निर्देशक मनोज कुमार चौधरी, रेडियो नेपाल प्रशासन महाशाखा प्रमुख बद्री विशाल तण्डुकार, उप निर्देशक सुरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष भुषण पोखरेल, सेवा निवृत्त कर्मचारीका तर्फबाट रचना श्रेष्ठ लगायतले संस्थाको हित, जनताको रुचि र चाहनालाई हृदयङ्गम गरी सार्वजनिक सेवा प्रसारकको रुपमा काम गर्न पाउँदा गर्वको महसुस गरेको धारणा राख्नुभयो ।














प्रतिक्रिया राख्नुहोस्