खेतखेतमा विद्युत् पुग्नुपर्छ: मन्त्री घिसिङ

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्छ भन्नुभयो । विकासको नाममा जथाभाबी लगानी गरिएको उल्लेख गर्दै उहाँले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौँ रुपैयाँको लगानीले देश समृद्ध बन्दैन भन्नुभयो ।
यसैबीच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उहाँले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “समृद्ध देश बनाउन र सुशासन कायम गर्न नेतृत्वको सही चयन गर्नुपर्छ ।”
उज्यालो नेपाल पार्टीले एउटा क्षेत्र मात्र नभई समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने मन्त्री घिसिङको भनाइ थियो । रासस








प्रतिक्रिया राख्नुहोस्