नरैनापुरमा अध्यक्ष कप र रनिङ शिल्ड सुरु
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सुरु भएको छ । नरैनापुरस्थित रंगशाला मैदानमा आइतबारदेखि आरम्भ भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले दुर्गम क्षेत्रमै रहे पनि पालिकाले शिक्षाको गुणस्तर वृद्धि र खेलकुद प्रवर्द्धनलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहेको उल्लेख गर्नुभयो । अध्यक्ष शाहले प्रतियोगिताले खेल क्षेत्रको विकास र नयाँ प्रतिभा पहिचानमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय स्तरमै खेल पूर्वाधार विस्तारका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिँदै उहाँले विद्यार्थीलाई अनुशासित, मर्यादित र मेहनती बनाउने माध्यमका रूपमा खेलकुदको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो । ग्रामीण क्षेत्रमा सञ्चालन हुने रनिङ शिल्डले स्थानीय स्तरका उदीयमान प्रतिभा उजागर गर्ने प्रभावकारी मञ्च बनेको उहाँको भनाइ थियो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो दिनमै आधारभूत तहका १३ खेल सम्पन्न भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत छात्र–छात्राबिच भलिबल, एथलेटिक्सतर्फ १००, २००, ४००, ८०० र ३००० मिटर दौड, हाइजम्प, सटपुट लगायतका गरी कुल १३ विधा समावेश छन्।
गाउँपालिकाभरिका ११ वटा प्राथमिक, मदरसा तथा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव, वडा नं. २ का अध्यक्ष तथा शिक्षा समितिका संयोजक मसूद अहमद शाह, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, महिला विकास शाखा प्रमुख कृष्णा चन्द, सूचना अधिकारी लक्ष्मीकान्त मिश्रा, शिक्षा शाखाका प्राविधिक कमल केसी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी तथा सह आयोजक नेपाल राष्ट्रिय आधारभूत विद्यालय शङ्कर नगर कोटियाका प्रधानाध्यापक सन्तोष पाण्डे लगायतको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रम मङ्गलवार समापन हुने शिक्षक रामचन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक मान बहादुर केसीले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्