तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर,कञ्चनपुर ।  दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबिच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।

गत शुक्रबार कैदीबन्दी र नाइकेबिच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हँुदैछ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहनुभएको छ । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

“आज पनि कारागारको अनुगमनमा जाँदै छौँ”, उहाँले भन्नुभयो, “घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।” नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूहरूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button