तपाईँ सुन्दै हुनुहुन्छः

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताउनुभयो । 

सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीले राखेका मागलाई सरकारले क्रमशः सम्बोधन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । 

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनका लागि आयल निगम प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयतका लागि पाइपलाइन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले ग्यास आयतका क्रममा लगाइएको दोहोरो कर हटाउन सरकारसँग आग्रह गर्नुभयो । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले व्यवसायीले भोग्नुपरेका समस्या सरकारले बिस्तारै सम्बोधन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । उहाँहरूले मुलुकमा व्यावसायिक नीति बनाउन मागसमेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button