तिलगंगाबाट ७१ लाख बढी कृत्रिम लेन्स उत्पादन
दोलखा । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले स्थापना भएको ३१ वर्षको अवधिमा मोतिया विन्दुको अप्रेशन पछि लगाइने कृत्रिम लेन्स (इस्ट्रा अकुलर लेन्स) ७१ लाख भन्दा बढी उत्पादन गरेको र ६५ लाख भन्दा बढी नेपाल लगायत विश्वका ४० मुलुकमा वितरण गरेको जनाएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले दोलखामा आयोजना गरेको सामाजिक लेखा परिक्षण बैठकमा प्रतिष्ठानको कार्यक्रम विभागका प्रमुख डा. मोहनकृष्ण श्रेष्ठले सन् १९९२ मा स्थापना भई सन् १९९४ बाट सञ्चालनमा आएको प्रतिष्ठानले ३१ वर्षको अवधिमा ७१ लाख ७३ हजार तीन सय एक वटा कृत्रिम लेन्स उत्पादन गरेको र यो अवधिमा नेपाल लगायत विश्वका ४० मुलुकमा ६५ लाख एक हजार पाँच सय ३१ वटा लेन्स वितरण गरेको बताउनुभयो ।
प्रतिष्ठानले उत्पादन गरेको कृत्रिम लेन्स नेपालमा तीन डलर भन्दा कम मूल्यमा राख्न सकिने र अन्य मुलुकहरूमा तीनदेखि चार डलरसम्ममा राख्न सकिने कार्यक्रम विभाग प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले ३१ वर्षको अवधिमा अस्पतालमा ४९ लाख ३१ हजार चार सय ७० र समुदायमा ४८ लाख ८० हजार पाँच सय ८९ गरी ९८ लाख १२ हजार ५९ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको र अस्पतालमा तीन लाख ७६ हजार एक सय दुई तथा समुदायमा दुई लाख ३९ हजार छ सय ८४ गरी छ लाख १५ हजार सात सय ८६ जनाको मोतिया विन्दु लगायतको अप्रेशन गरिएको डा. श्रेष्ठले जनाउनुभयो ।
त्यसैगरी यो अवधिमा १५ हजार नौ सय ५४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको प्रतिष्ठानका कार्यक्रम प्रमुख डा. श्रेष्ठको भनाई छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको एउटा केन्द्रीय अस्पताल, तीन वटा सामुदायिक अस्पताल, १४ वटा शल्यक्रिया आँखा केन्द्र, १३ वटा सामुदायिक आँखा केन्द्र र ५८ वटा सहरी, ग्रामीण आँखा केन्द्र रहेको जनाइएको छ । प्रतिष्ठानले सात प्रदेशका ३८ जिल्लामा शाखा स्थापना गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्