तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालयसँग सहमति भएपछि सहकारी पीडितको आमरण अनसन तोडियो

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयनका माग राख्दै आमरण अनसन बस्नुभएका सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताको आमरण अनसन तेस्रो दिन तोडिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित सङ्घर्ष समितिका सह-संयोजक आशुतोष शुक्लाका बीचमा दुई बुँदे सहमति भएपछि गुप्ताको आमरण अनसन तोडिएको हाे ।

पुस १ गते जिल्ला प्रशासन कार्यालय, बाँकेको मुख्य प्रवेशद्वार अगाडि आमरण अनसनमा बस्नुभएका गुप्ताको स्वास्थ्य अवस्था बिग्रेपछि गएराती नै भेरी अस्पतालमा लगेर आइसियुमा राखिएको थियो । सहमतिपछि अस्पतालबाटै अनसन तोडिएको हो ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी उपसचिव मन्जु पाण्डेले लुम्बिनी प्रदेश सहकारी ऐन २०७६ बमोजिम साबिकको सहकारीको समिति विघटन गर्ने र सोही ऐन अनुसार तदर्थ समिति बनाउने एवम् गुप्ताले आमरण अनसन तोड्ने सहमति भएको बताउनुभयो । ४३ करोड बढी आर्थिक अपचलन भएको सहकारी वित्तीय विकास संस्थाका १९ जनालाई अदालतले कसुरदार ठहर गर्दै उनीहरुलाई कैद, जरिवाना र बिगो भराउने तथा सहकारी विभाग, मन्त्रालय, जिल्ला प्रशासन, नगरपालिका, मालपोत, पीडित सम्मिलित तदर्थ समिति बनाउन आदेश गरेको थियो ।

जिल्ला अदालतले २०८० पुस २६ गते गरेको फैसलालाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सदर गरेको थियो । यतिका वर्ष हुँदासम्म सहकारी विभागले आफ्नो काम नगरेपछि पीडित सङ्घर्ष समितिका संयोजक आमरण र अन्य ४ जना रिले अनसनमा बसेका थिए ।

प्रदेशको सहकारी मन्त्रालयसँग सहमति भएपछि पीडितले आफ्नो बचत फिर्ता आउने सम्भावनाको ढोका खुलेको बताएका छन् । पीडित सङ्घर्ष समितिका सह-संयोजक शुक्लाले तदर्थ समिति बनाएर विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति बनाई सहकारी चलाउने र कर्जा उठाउने, अदालतले दोषी ठहर गरेकासँग बिगो उठाउने लगायतकाे काम गर्ने र बचतकर्ताको रकम फिर्ता गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button